
पौष मसान्तमा साधारणसभाको चटारो, भौतिकरुपमा गर्ने भनिएका सभा भर्चुयल माध्यमबाट हुँदै
पौष २९, बिहिबार
आज एकैदिन १७ कम्पनीको साधारणसभा परेको छ । पौष मसान्त अर्थात चालु अर्थिक वर्षको ६ महिना भित्र कम्पनीहरुले साधारणसभा नगरेमा नेप्सेले कम्पनी वर्गिकरणमा घटुवा र जरिवाना समेत तिराउने भएकाले पौष अन्तिम तिर कम्पनीहरुको साधारणसभा गर्ने चटारो परेको हो । बढ्दो कोरोना संक्रमणका कारण सरकारले २५ जनाभन्दा बढिको भेला गर्न वा गराउनमा रोक लागाएपछि प्राय कम्पनीहरुले भौतिक रुपमा गरिने भनिएको साधारणसभा भर्चुयल माध्यमबाट हुने भएको छ ।
आज साधारणसभा हुने १७ कम्पनीमध्य तिन वाणिज्य बैंक रहेका छन् । वाणिज्य बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंकको आज साधारणसभा रहेको छ । यस्तै, एक विकास बैंकमा नारायणी डेभलपमेन्ट बैंक रहेको छ । चार लघुवित्तहरुमा मिर्मिरे लघुवित्त, मिथिला लघुवित्त, सामुदायिक लघुवित्त र मानुषी लघुवित्त सभा आह्वान गरेका छन् । मञ्जुश्री फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स गरि चार फाइनान्सको पनि आज साधारणसभा हुँदैछ । हाइड्रोमा बरुण हाइड्रोपावर र माउन्टेन हाइड्रो नेपाल को साधारणसभा आज हुँदैछ भने चन्द्रागिरी हिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पनि साधारणसभा आजै बोलाएको छ ।
प्राय सबैजसो कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल र पारित गर्ने र चालु आर्थिक वर्षको लेखापरिक्षण गर्नको लागि लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा राखेका छन् । कतिपय कम्पनीहरुले उपयुक्त कम्पनीसँग मर्जर र प्राप्ति प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने, हकप्रद जारी गर्ने, सञ्चालकको निर्वाचनलाई पनि वार्षिक साधारण सभाको एजेण्डामा राखेका छन् ।
