
नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि १५ जनाको आवेदन, मात्र ३ छनोट गरी मन्त्रिपरिषदमा सिफारिस गर्ने
पौष २९, बिहिबार
नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षको लागि १५ जनाले आवेदन दिएका छन् । बोर्डले कार्तिक ११ बाट लिएको पहिलो पटकको विज्ञापन रद्द भएपछि बोर्डको अध्यक्षको लागि दोस्रो पटक पौष १४ गते आवेदन खुल्ला गरिएको थियो । पहिलो पटकको विज्ञापनमा १२ जनाले आवेदन बुझाएका थिए भने सो १२ मध्य एकजना सञ्चय कोषका पूर्वप्रमुख कृष्ण आचार्यले अहिले आवेदन दिएका छैनन् भने थप चार जनाले नयाँ आवेदन दिएका छन् ।
धितोपत्र बोर्डको अध्यक्षका लागि धितोपत्र बोर्ड कै कार्यकारी निर्देशक निरज गिरि र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी ले आवेदन दिएका छन् । बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ गोपाल भट्ट, गैह्र आवासीय नेपाली रमेश हमाल, बोर्डकै पूर्वकर्मचारी जीवन अंगाई, नेप्सेको पूर्व सीइओ सिताराम थपलिया, सहरी विकास कोषका उपनिर्देशक अनिल पौडेल, शेयर लगानीकर्ता तथा विश्लेषक केशव प्रसाद श्रेष्ठ, प्रभु बैंकको पूर्व सञ्चालक अम्बिका शर्मा लामिछाने र लगानीकर्ता तथा विश्लेषक हेमन्त बस्यालले पनि आवेदन दिएका छन् । साथै, नयाँ आवेदन दिनेमा कृष्णराज पोखरेल, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र रमेश घिमिरे रहेका छन् ।
यि १५ जनाबाट छनोट समितिले निवेदकहरुको कार्यपत्र प्रस्तुती र अन्तर्वार्ताका आधारमा ३ जना छनोट गरी मन्त्रिपरिषदमा सिफारिस गर्नेछ ।