
पौष मसान्तमा सोचे जति ब्याज उठ्न नसकेकोले इपीएस घट्यो, अब बढ्ने निश्चित छ : गोर्खाज फाइनान्स
गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यसको वित्तीय विवरण सोचे अनुसारको नआए पछि लगानीकर्ता चिन्तित रहेका छन् |
गोर्खाज फाइनान्सको दोस्रो त्रैमासिको विवरण सार्वजनिक भए संगै दीपेन्द्र अग्रवाल र संस्थाको सीइओ बीच खटपट रहेको हल्ला बाहिर आउन थालेको छ | यसै विषयमा दीपेन्द्र अग्रवाल भन्छन् :
म गोर्खाज फाइनान्सको बोर्डमा छैन र त्यसको कुनै संचालक समितिमा पनि छैन | म त्यस संस्थाको एक लगानीकर्ता मात्र हुँ | मैले कसैलाई काम गर्न दिने नदिने भन्ने कुरै हुदैन |
जहाँ सम्म सीइओ सँग मेरो सम्बन्धको कुरा छ | उहाँ सँग मेरो कुनै त्यस्तो नराम्रो सम्बन्ध छैन |
हालको दोस्रो त्रैमासको विवरण पनि अगाडिको विवरण जस्तै छ | संस्थाले प्रथममा भन्दा दोस्रो त्रैमासमा झन् राम्रो गर्नु पर्ने तर जस्ताको त्यस्तै छ | अब आस गरौ तेस्रो र चौथो त्रैमासिक विवरण राम्रो सार्वजनिक गर्ने छ |
यसै विषयमा गोर्खाज फाइनान्सको सीइओ लालबहादुर थिङ सँग कुरा गर्दा ‘ मेरो दीपेन्द्र अग्रवाल सँग कुनै नराम्रो सम्बन्ध छैन | उहाँले काम गर्न नदिएको भन्ने कुरा सत्य हैन | यस संस्थामा काम गरेको यति धेरै समय भयो आज आएर काम गर्न नदिने भन्ने कुरा हुदैन | म आफै पनि बिरामी भएको कारण अफिस जान सकेको छैन | ‘
संस्थाको सूचना अधिकृत मुकुन्द श्रेष्ठले ‘ बाहिर आए जस्तो संस्थाको संचालक समितिमा र बोर्डमा कुनै पनि समस्या रहेको छैन | सीइओ लालबहादुर थिङले राजिनामा दिनुभएको छ | यहि माघ १८ गते उहाको कार्यकाल सकिन्छ त्यस पछि नयाँ सीइओको चयन हुनेछ | उहाँको स्वास्थ्य अवस्था ठिक नभएको कारण कार्यालयमा उपस्थित हुनसक्नु भएको छैन |
नेपालको अर्थमा देखा परेको तरलताको अभावले हाम्रो संस्थालाई पनि असर गर्यो | पौष मसान्तमा उठ्नुपर्ने ब्याज उठ्न नसकेको कारण यस त्रैमासमा विवरण घटेको हो | हाम्रा ऋणीहरुले बजारमा देखा परेको तरलताको असरले बेलामा ब्याज तिर्न सक्नु भएन, त्यसैको असर विवरणमा देखा परेको हो | हामी अझै पनि नेपालको नम्बर एक फाइनान्समा छौँ | नेट वोर्थ हेर्नुहुन्छ भने हाम्रो अझै पनि राम्रो छ | यो बीचको त्रैमासमा बिभिन्न कारणले केहि असर परेको हो तर वार्षिक विवरणमा हामी नेपालको सबै भन्दा राम्रो वित्तीय विवरण सार्वजनिक गर्ने छौँ | ‘ भनेका छन् |
गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा भन्दा यसको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस), कम्पनीको नाफा, संचालन मुनाफा, रिजर्भको आकार घटेको छ | बजारमा गोर्खाज फाइनान्स ले राम्रो दोस्रो त्रैमासिक विवरण सार्वजनिक गर्छ भन्ने हल्ला रहेको थियो | तर हल्ला अनुसारको वित्तिय विवरण सार्वजनिक नहुदा अहिले धेरै लगानीकर्ता चिन्तित रहेका छन् |