
ओमिक्रोनका लक्षणहरु के-के हुन् र जोखिम कसरी कम गर्न सकिन्छ
माघ १०, सोमबार
नेपालमा १७,४३७ जनालाई कोरोन संक्रमण पुष्टि भएको छ । कोभिड–१९ को भाइरसमा उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन नाम दिइएको छ । यो भेरीएन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । ओमिक्रोन भेरियन्ट कोभिड–१९ को सबैभन्दा पछिल्लो भेरियन्ट हो । यो भेरियन्ट अहिले नेपाल लगायत विभिन्न मुलुकमा देखिएको छ ।
कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।
ओमिक्रोनका लक्षणहरु के के रहेका छन् ?
- रुघाखोकी , नाकबाट पानी बग्ने
- टाउको दुख्ने , ज्वरो आउने
- गन्ध तथा स्वाद थाहा नहुने
- जिउ दुख्ने, थकान महसुस हुने
- घाँटी दुख्ने, आखाँ दुख्ने, छाती दुख्ने
- श्वास फेर्न गाह्रो हुने
- पखाला लाग्ने
यस्ता लक्षणहरू देखा परेमा नजिकको तोकिएको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस् ।
कसरी जोखिम कम गर्न सकिन्छ:
- मास्क लगाउने
- कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्ने
- साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने
- भिडभाड नगर्ने
- हावा आवतजावत हुने स्थानमा बस्ने
- कोभिड-१९ विरुद्धको खोप लगाउने
के ओमिक्रोन भेरियन्ट पहिलेको डेल्टा भेरियन्ट भन्दा बढी संक्रामक छ?
यो भेरियन्ट देखापरेको मुलुकहरूमा संक्रमण दर ह्वातै बढेको छ। तर यो ओमिक्रोन कत्तिको संक्रामक छ भन्ने हालसम्म स्पष्ट भइसकेको छैन र यस बारे थप अध्ययन भइरहेको छ।
के कोभिड-१९ विरुद्धका खोपहरू ओमिक्रोन भेरियन्ट विरुद्ध पनि प्रभावकारी छन्?
ओमिक्रोन भेरियन्ट धेरै छिटो फैलिन सक्ने भेरियन्टका रूपमा देखा परेको छ। हाल वितरण भइरहेको कोभिड-१९ विरुद्धका खोपहरू यस भेरियन्टलाई प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरू अध्ययन गरिरहेका छन् र अहिले सम्म ठोस तथ्य पत्ता लागिसकेको छैन।
पहिले कोभिड-१९ संक्रमण भइसकेकालाई ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्छ?
सक्छ। पहिले कोभिड-१९ संक्रमण भइसकेकालाई समेत फेरी ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्छ ।
ओमिक्रोन भेरियन्टबाट बच्न के गर्ने?
कोभिड-१९ का अन्य भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि मास्कको सही प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भिडभाड नगर्ने, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने लगायतका सबै जनस्वास्थ्यका मापदण्डहरूको कडाइपूर्वक पालना गर्नुपर्छ र कोभिड-१९ विरुद्धको खोप लगाउनुपर्छ।
कोभिड-१९ सम्बन्धि केही द्विविधा छ? यसो गर्नुहोस्
– केही लक्षण देखिएमा कोरोना परीक्षण गराउनुहोस् |
– परीक्षणमा पोजिटिभ देखिए होम आइसोलेसनमा बस्नुहोस् |
– होम आइसोलेसनमा बस्दा दिनमा ३-४ पटक अक्सिनजको स्तर नाप्नुहोस्, झ्याल खुला राख्नुहोस्, आराम गर्नुहोस् र पोषिलो तथा झोलिलो खानेकुरा खानुहोस् |
– अक्सिजनको स्तर ९२% भन्दा बढी भएमा ज्वरोको औषधी खानुहोस्, प्रशस्त तरल पदार्थ (जीवन जल) खानुहोस्, घोप्टो परेर पल्टिने |
– अक्सिजनको स्तर ९२% भन्दा कम भएमा चिकित्सकसँग परामर्श लिने |
– कोभिड सम्बन्धि परामर्शका लागि ११३३ वा १११५ डायल गर्नुहोला |
अहिलेको चुनौतिपूर्ण समयमा हामीले स्वास्थ्यकर्मीहरूलाई यी पाँच तरिकाद्वारा सहयोग गर्न सक्छौंः
– रोगको निदान स्वास्थ्यकर्मीलाई नै गर्न दिऔंः कोरोना संक्रमण भए नभएको पुष्टि स्वास्थ्यकर्मीले मात्र गर्न सक्छन् । संक्रमण पुष्टि नभइ अनावश्यक रूपमा आतंकित नहोऔं
– मद्दत पाउनका लागि नपर्खौंः कुनै लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गरौं
– अनावश्यक रूपमा औषधी नकिनौं, जगेडा नराखौं
– सही जानकारी मात्र बाँढौँ, विश्वसनीय स्रोतहरूको प्रयोग गरौं
– घरै बसौंः अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कौं