
ऋण लिएर आईओसीलाई नेपाल आयल निगमद्वारा १३ अर्ब रकम भुक्तानी
माघ १०, सोमबार
सञ्चित बचत शून्यमा पुगेपछि नेपाल आयल निगमले सरकारसँग ऋण लिएर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १३ अर्ब २० करोड रुपैँया भुक्तानी गरेको छ । प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए अनुसार निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड रुपैँया लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आईओसीलाई भुक्तानी गरेको हो ।
आईओसीलाई १ अर्ब ८० करोड रुपैँया भुक्तानी गर्न नपुगेपछि सो रकम उपलब्ध गराइदिन निगमले सरकारसँग आग्रह गरेको थियो ।
शुक्रबार बसेको मूल्य स्थिरीकरण कोष सञ्चालक समितिको बैठकले अपुग भएको रकम निगमलाई उपलब्ध गराउने निर्णय गरेको हो ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि निगमले घाटा बेहोर्नु परेको बताइएको छ । पेट्रोलियम पदार्थको खरिद मूल्य बढाएर मूल्य समायोजन नगर्दा थप घाटा हुने विज्ञहरुले बताएका छन् । यसैबीच आईओसीलाई तेस्रो किस्ता कसरी तिर्ने भन्ने बारेमा एनओसी चिन्तामा रहेको छ ।